बाख्रा आनुवांशिक स्रोत केन्द्र, बुढीतोला सुदूरपश्चिम प्रदेश अन्तर्गत कैलाली जिल्लाको गोदावरी नगरपालिका–४, बुढीतोला स्थित सरकारी संस्था हो। यसको स्थापना वि.सं. २०४० साल चैत्र २० गते "बाख्रा विकास फार्म, बुढीतोला" को नाममा गरिएको थियो। पछिल्लो समय वि.सं. २०७५ साल श्रावण महिनादेखि यस फार्मको नाम परिमार्जन भई हालको नाम "बाख्रा आनुवांशिक स्रोत केन्द्र, बुढीतोला" राखिएको हो।
भौगोलिक अवस्थिति
यो केन्द्र समुद्री सतहबाट करिब १,२०० मिटर उचाइमा अवस्थित छ। भौगोलिक दृष्टिले चुरे र महाभारत पर्वतशृङ्खलाको भञ्ज्याङ्गमा, धनगढी–डडेल्धुरा (भिमदत्त लोकमार्ग) सडकको छेउमा रहेको छ। अत्तरिया चोक (पूर्व–पश्चिम लोकमार्ग) बाट २५ किलोमिटर उत्तर र कैलाली सदरमुकाम धनगढीबाट ४० किलोमिटरको दूरीमा पर्छ। चारैतिर जंगलले घेरिएको यो केन्द्र शान्त र प्राकृतिक वातावरणमा अवस्थित छ।
केन्द्रको विशेषता
बाख्रा आनुवांशिक स्रोत केन्द्र, बुढीतोलालाई संघीय सरकार अन्तर्गतको एक मात्र पूर्वाधारसहितको नमूना बाख्रा विकास फार्मको रूपमा लिइन्छ। प्रारम्भिक कालदेखि नै साविक जिल्ला पशु सेवा कार्यालयहरू, सरकारी तथा गैरसरकारी निकायहरू, कृषक समूह तथा समितिहरूलाई सेवा प्रदान गर्दै आएको यो केन्द्र हालसम्म निरन्तररूपमा बाख्रापालन प्रविधि, स्थानीय तथा उन्नत जातका बाख्रा (जमुनापारी, वारबेरी), उन्नत घाँस तथा डाले घाँसको विउ र बिरुवा उपलब्ध गराउँदै आइरहेको छ।
हाल उपलब्ध सेवाहरू
हाल यस केन्द्रबाट निम्न सेवाहरू प्रदान गरिँदै छन्:
-
शुद्ध खरी बाख्रा
-
शुद्ध बोयर बाख्रा
-
वर्णशंकर बोयर जातका बोका तथा पाठापाठीहरू
फार्म संरचना तथा पूर्वाधार
यो केन्द्र हाल १४.१५ हेक्टर क्षेत्रफलमा फैलिएको छ। यस अन्तर्गत निम्न संरचना रहेका छन्:
-
६ वटा बाख्राका खोरहरू
-
१ वटा कार्यालय भवन
-
२ वटा आवास भवन
-
२ वटा पाले भवन
-
१ वटा स्टोर भवन
यसका साथै, १ मात्र तालिम भवन द्वन्द्वकालमा ध्वस्त भएको तथा हाई टेन्सन लाइन मुनि परेका कारण त्यसको क्षतिपूर्ति रकम नेपाल सरकारको राजस्व खातामा जम्मा गरिसकिएको छ।
बोयर जातको सुरुवात
आर्थिक वर्ष २०७२/०७३ मा कृषि तथा खाद्य सुरक्षा आयोजना अन्तर्गत २५ वटा बोयर माउ र ३ वटा बोयर बोका अष्ट्रेलियाबाट आयात गरी पालन सुरु गरिएको हो। त्यसयता बोयर जातको व्यवस्थापन तथा सुधारमा निरन्तर काम भइरहेको छ।
घाँस तथा आहाराको व्यवस्था
फार्ममा हिउँदे, वर्षे, बहुवर्षे तथा उन्नत जातका घाँसहरूको उत्पादन गरिन्छ, जसले औसत ३०० बाख्राको आहाराको परिपूर्ति गर्दछ। साथै, डाले घाँसका करिब ५००० वटा बिरुवा उत्पादन र रोपाइँ गरिएको छ। प्रयोगमा ल्याइएका डाले घाँस प्रजातिहरूमा कुटमिरो, टाँकी, काभ्रो, तिमिलो, इपिल–इपिल, पैँयू, हर्रो, खन्यू, भिमल, कोईरालो, तुसारे, किम्बु, जमुना, बाँझ, बेडुलो, बकाईनो, मेण्डुला, भटमासे आदि समावेश छन्। यी घाँसहरूले बाख्राको पोषणमा योगदान पुर्याउनुका साथै वातावरणीय सौन्दर्य पनि बढाएका छन्।
चरनको समस्या तथा भविष्यको चुनौती
विगतमा जंगल नजिकको पातलो बस्तीले चरन व्यवस्थापनमा सहजता थियो। तर हाल मानवीय बसोबासको वृद्धि, चरन क्षेत्र सामुदायिक वनमा परिणत हुनु र सामुदायिक वनको विस्तारले चरनको व्यवस्था जटिल बन्दै गएको छ। परिणामस्वरूप, २ ग्रुप खरी बाख्राबाहेक अन्य सबै बाख्रालाई पूर्ण वँधुवा (stall-fed) प्रणालीमा पालन गरिँदै आएको छ।
नीतिगत आवश्यकता
निकट भविष्यमा सबै बाख्रालाई पूर्ण वँधुवा प्रणालीमा पालन गर्नुपर्ने आवश्यकता देखिएको छ। त्यसका लागि फार्मको क्षेत्रफल विस्तार, पोषिला घाँसयुक्त चरन क्षेत्रको विकास तथा यो विषयमा नीति तहमै आवश्यक निर्णय लिनुपर्ने अवस्था आएको छ।